म यो समाजलाई बिगार्न चाहन्छु…


कक्षा १२, १० र ८ को नतिजा मात्रै
राम्रो भए पुग्छ ।
ज्ञान सहित होइन
केवल ग्रेड राम्रो भए पुग्छ ।
ज्ञान शीप खासै दिनु छैन मलाई
केवल बाह्य परीक्षामा
धेरै नम्बर आउने गरी घोकाए पुग्छ।
कक्षा ११, ९ र ७ लाई मात्रै
पढाउन मन पर्छ
सिकाउन त त्यस्तै हो
पाठ्यक्रम त बालै फरर
पाठ्यापुस्तकका पाठ मात्रै पढाएर लख्र्याक लुख्रुक समअर्थी शब्द दिए पुग्छ ।
आफै प्रश्न बनाउने
आफै परीक्षण गर्ने
परीक्षण गरिएको कपी
देखाउनै नपर्ने
मागी हाले किन चाहियो भनी
सातो खाइदिने
अरुले देखए भने
किन हो यस्तो लापरबाही भनी
स्पष्टीकरण माग गर्ने
आइन्दा नगर्ने प्रतिबद्धता सहित
सार्वजनिक रुपमा माफी मगाउने !
नतीजा अरुले थाहा पाए,
आइडिया विल्कुल तयारी छ नि !
तलकाले पढाएनन् ।
तलकाले “हामीले पढाउँदा त राम्रै थियो त” भनिहाले,
“त्यसो भए हामीले माथि आएर बिगार्यौं त?”
भनी ठूलो डाँको गर्ने नि !
समस्या बल्झेला झैं गरे,
खत्रै आइडिया छ नि!
त्यो फलानो विद्यार्थीको त
बुद्धि बोधो छ।
गिदी बाक्लो छ।
दिमाग मोटो छ।
यसको दिमागमा गोबर भरिएको छ।
यसको दिमागमा भुस्सा भरिएको छ।
यसको त झन् दिमागै छैन ।
यसको त बुद्धि सुक्को छैन ।
अभिभावकले पढाइ राम्रो भएन भने,
तपाईंहरुले नि हेर्नू पर्यो नि !
हाम्रो भरमा मात्रै छोडेर हुन्छ ?
हेर्नुस्,
तपाईंसंग १८ घण्टा
अनि हामीसँग ६ घण्टा
हामीले धेरै कि
तपाईंले धेरै हेर्नुपर्ने रहेछ?
तपाईंले मोबाइल खेलाएसी हुन्छ?
तपाईंले चुरोट रक्सी खाएसी हुन्छ?
तपाईंले घरको काम गराएसी हुन्छ?
तपाईंले ट्युसन कोचिङ्ग नपठाएसी हुन्छ?
सर, मैले ट्युसन कोचिङ्ग त पठाएकै छु त! भनीहाले
हरिप आइडिया छ नि !
तपाईंले जोडेको गाह्रो चर्किन्न?
तपाईंले बनाएको झ्याल पसाङ्गिन्न?
तपाईंले रोपेको खेतीमा किरा लाग्दैन?
तपाईंले रोपेको सबै बोटमा फल्छ?
तपाईंले जति बराबर स्याहर गरे तापनि
जेठो दुब्लो अनि कान्छो मोटो छैन?
अब ट्युसन कोचिङ्ग नपठाउनुस् ।
अर्कै स्कुलमा लैजानुस् ।
भनेको मान्नुहुन्छ भने,
ग्यारेजमा लगाइदिनुहोस्
दुई बर्षमा हेड मिस्त्री बन्छ ।
लेबर काममा पठाइदिनुहोस्।
एकै बर्षमा मिस्त्री
अनि दुई बर्षमा हेड मिस्त्री बन्छ ।
खलासीमा हाल्दिनुस्
दुई बर्षमा राम्रो ड्राइभर बन्छ।
“सर तपाईंहरु जत्तिका
धेरै पढेलेखेका विज्ञहरुले
नसक्ने काम
ती नपढेका मिस्त्री र ड्राइभरले
सिकाउन सक्लान् र?”
भनिहाले,
फेरि लाज, घीन, सरम पचएर,
रिसाउँदै अनि झर्किंदै,
तपाईं बढ्ता बोल्नु भा’छ है¡
उमेर, संगत र माहोल अनुसारको
फरक रुचि हुँदैन ¿
यति जात्तिबित्ती बोल्न जान्नेले
आफै घरमै पढाए हुन्न ¿
कति दिमाग खराब गर्न सकेको ¿
होइन सर, नरिसाउनुस् न!
मैले त तपाईंजत्तिको सबैकुरा जानेको,
प्रशस्त तालिम लिनुभएको,
विश्व ज्ञान भएको,
समाजकै ठुलो मानिएको,
बिग्रेकालाई सुधार्ने क्षमता भएको,
टाउकोको बिना जाँच नै,
टाउकोको बिना जाँच नै,
विद्यालयका अन्य साथै
मेरो बच्चाको दिमाग
मोटो, बाक्लो, बोधो,
गोबर भरिएको,
भुस्सा भरिएको,
अझै दिमागै नभएको
सम्पूर्ण जानकारी
आँखाले नै
एक्सरे
भिडियो एक्सरे
सिटी स्क्यान
एमआरआई
गर्न सक्नुहुने
क्षमतावान विद्वानले
मेरो बच्चालाई
१० बर्ष पढाइसक्नु भयो
अझै दुई बर्ष पढाइ दिनुस्
अहिले सम्म त क-ज्ञ, अ-अ:
१-५० अनि 1-30 सम्म
A-Z र a-z सम्म त जान्दैन ।
म जत्तिकै छ ।
मेरो पालोमा स्कुल टाढा,
बाबा आमा बेस्सरी गरीब,
हामी केटाकेटी धेरै,
त्यसैले पढ्न पाइएन !
अझै मजुराले त पुग्दैन,
साहुसँग ॠण ल्याएर पढाउँछु नि
भनेर बिन्ती बिसाएको सर
कृपया मेरो बच्चालाई कम्तीमा
साक्षरसम्म त बनाइदिनुस्
नत्र त भोलि लेबर काम गर्दा
कतै अपाङ्ग भएमा
नाम लेख्न नजानेमा
अपाङ्ग भत्ता पनि पाइँदैन रे
अपाङ्गलाई तालिम लिन
निवेदान लेख्न पर्छ रे
निवेदन अरुले लेखिदिए तापनि
सही वा नाम त आफैले लेख्न पर्छ रे !
हामी बाँचुन्जेल त मजुरा गरी खुवाउँला
हाम्रो शेषपछि त यो भावी अन्धा पनि त बाँच्नु पर्ला नि सर !
मैले यति मात्रै आश राखेर
बिन्ती बिसाएको
तपाईं बिनासित्ती किन रिसाएको
तपाईंको क्षमता त
तपाईंकै मुखबाट स्पष्ट पारिसक्नुभयो
१० बर्षमा साक्षरसम्म बनाउन नसक्ने
म ३ महिना प्रौढ शिक्षा पढेर
साक्षर बन्न सक्ने !
पढ्नै सक्दैन भनी,
तपाईंले ज्ञारेजमा पठाए हुन्छ ¡
लेबर काममा पठाए हुन्छ ¡
खलासी बनाए हुन्छ ¡
भन्ने सुझाव मानेर गएकाले
दुई बर्षमै हेड मिस्त्री र
सक्षम ड्राइभर बनाउन सक्ने
तपाईंलाई थप दुई बर्षको समय दिंदा
साक्षरसम्म बनाउन नसक्ने किन????
तपाईंलाई आफ्नो
योग्यता, शीप, क्षमता, तालिम, कला,
ज्ञान, बुद्धि, विवेक र अनुभवमा
विश्वास लाग्दैन????
“म विद्यार्थी, विद्यालय,
समाज र राष्ट्र परिवर्तन गर्न सक्छु”
भन्ने आँट आउँदैन??????
“नत्र म यो समाजलाई बिगार्छु”
भनेको जस्तो लाग्दैन????
सुधार्नको लागि तपाईंले,
कहिल्यै सानातिना अनुसन्धान गर्नुभएको छ?
कहिल्यै अनुभव आदनप्रदान गर्नुभएको छ?
कहिल्यै अवलोकन भ्रमण जानुभएको छ?
कहिलेकाहीँ अन्तरक्रिया गर्नुभएको छ?
कहिल्यै नवीनतम शिक्षण विधिबारे जानकारी लिनुभएको छ?
कहिल्यै पाठ्यक्रम र परीक्षाबारे अध्ययन गर्नुभएको छ ?
कहिल्यै तपाईंले नवप्रवेशी शिक्षकहरूलाई
कुनै अनुभव आदानप्रदान गर्नुभएको छ?
कुनै पूर्व तालीम दिनुभएको छ?
कहिल्यै तालिममा पठाउनुभएको छ?
कहिल्यै आफ्नो विषयसंग मिल्दोजुल्दो पुस्तक पढ्नुभएको छ?
कहिल्यै सफल अनुभवका लेख रचना प्रकाशित गर्नुभएको छ?
हामी मजदुरले त यस्ता तालिमहरु लिईरहन्छौं !
हामीले केही नि:शुल्क त केही सशुल्क तालिम लिनै पर्छ ।
त्यसैले होला,
एउटा घर बनिसकेपछि
हाम्रो मजदुर समूहलाई
उनै साहूको सिफारिसमा
अर्को घर बनाउने काम पाइहाल्छौं ।
पुरानो घरहरुभन्दा नयाँ घरहरु
राम्रा, बलिया र आधुनिक छन् ।
मजदुर हुनुमा मलाई गर्व छ !
तपाईंलाई नि??¿¿¡¡
विद्यार्थी, अभिभावक, नेता, कार्यकर्ता, कर्मचारी, समाज, राज्य आदि कसैलाई पनि दोष नदिनुस्।
किनकि ती सबैजना
तपाईंकै उपज हुन् ।
तपाइकै असक्षम चेलाचेली हुन्!
तसर्थ, अब भन्न लाज नमान्नुस्,
म यो समाजलाई बिगार्न चाहन्छु!
ध्वस्तै, अस्तव्यस्तै पार्न चाहान्छु !
(सफल प्रयासमा रहनूहुने गुरुवर्गप्रति पर्नसक्ने अपमानप्रति क्षमा प्रार्थी छु)





