भीरमा उम्रेको
मलबिना हुर्केको चिलाउनेको रुख
सर्लक्क बढेको
निक्कै अग्लो
अनि सोझो
थोरै हाँगाबिँगा
काउसो सहितको बोक्रा
नकोट्याउँदा सामान्य देखिने,
आडेस लागे पनि केही नहुने,
मजाले आड दिने,
धुरी खाँबो बन्ने,
मुड्का उस्तै गज्जब हुने,
दारपातको राजै मानिने,
तीन तले घर धान्ने,
अरुको कल्पनै नहुने,
तुलना गर्नै नमिल्ने,
धुलिया नलाग्ने,
घाम पानीले खासै असर नगर्ने,
कोट्याए,
शरीरमा लागे,
बिचित्रै चिलाउने,
चालै उठाउने,
छालै काढ्ने,
कन्याउँदा-कन्याउँदा रगतै निकाल्ने,
अब उप्रान्त गर्दिन भनेर कान समाई उठबस गराउने,
यो चिलाउनेको रुख,
बाँसझैं नुगेन,
झुकेन भनी गुनासो पोख्नेहरु भेट्दा,
टिठ लाग्छ ।

बाँस फल्दैन ,
तैपनि नुग्छ,
झुक्छ,
भुँई नै छुन्छ,
राम्रो लाग्छ रे !
चिलाउनेको रुख,
ठाडिएको देख्दा,
ठङ्गठङ्ग्ती उभिएको भेट्दा,
घमण्ड गरेको लाग्छ रे !
झोंक चल्छ रे!
ढाल्दिउँ जस्तो लाग्छ रे !
हुल बाँधेर धकेल्न मन लाग्छ रे !
हावा, हुरी, बतास र झरी पुकार्न मन लाग्छ रे !
धोद्रे लागोस !
चट्याङ परोस !
पहिरोले लगोस !
डढेलो लागोस !
यस्तै यस्तै लाग्छ रे !
मधेसमा बसेकाले,
पहाडको चिलाउनेलाई त चिनेन ।
ठिकै हो !
तर साल, साज, सिसौ आदि पनि त झुक्दैनन नि !
बलिया हुन्छन नि !
दामी काठ हुन नि ।
भूगोल को बारेमा धेरै थाहा नभए पनि,
अलि अलि तुलना गर्न त सक्नु पर्ने !
किन होला यति पनि थाहा नभएको भन्ने लाग्यो ।
धेरै सोंचें !
गन्थन मन्थन गरें ।
अन्तिममा थाहा भयो कि
बुद्धि र विवेकमा निक्कै फरक रहेछ ।
बुद्धि बोक्रा रहेछ भने विवेक गुदी रहेछ ।
बुद्धि घोकाई रहेछ भने विवेक भोगाई रहेछ ।
बुद्धि हेराई, सुनाई, देखाई रहेछ भने
विवेक व्यावहारिक प्रयोग रहेछ ।
यी दुईमा फराकिलो अन्तर रहेछ ।
ज्ञान र बुद्धिले भरिपूर्ण मानव सागरले भरिएको समाज रहेछ ।
विवेकको वास्तविक प्रयोग रहेनछ ।
किनकि त्यो क्षमता नै रहेनछ ।
विवेकी मनुष्यको अभाव अनि बुद्धिमान मानिसको तनावग्रस्त छोटे राज्य रहेछ ।
दुःख लाग्थ्यो ।
अहिले चित्त बुझ्यो किनकि खोक्रे न्यायधिशहरुको हैसियत बुझें ।
खुशी लाग्यो ।
चित्त बुझ्यो ।
मज्जा आयो ।
आहा! आह! आहा!
चिलाउनेको रुख कसरी चिनोस बिचरा ! !
मधेसमै जन्मे पनि
थारु भाषा नजान्ने
पहाडबाट बाजे झरेका भए तापनि पहाडको गाउँको नामसम्म नजान्ने ठुटा अनि ठेट्नाहरुले ।
मधेसमै जन्मे पनि
थारु भाषा नजान्ने
ठुटा अनि ठेट्नाहरुले ।
पुराण ल्हेगें गुरुङ,
सुनवल-४, नवलपरासी





