घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले आम उपभोक्तालाई ठगिनबाट जोगाउन विद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा दिन थालेको छ । कार्यालयले विद्यालयमा नै पुगेर सचेतना कक्षा सञ्चालन गरेको हो ।

शुक्रबार सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम गरिएको हो । उक्त अवसरमा विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई वस्तुको तौल, गुणस्तर, मिसावट, अखाद्य वस्तुको प्रयोगबाट पर्ने असर लगायत विषमा जानकारी दिईएको थियो ।
उपभोक्ता अधिकारबारे विद्यार्थीलाई ज्ञान र चेतना जगाउन विद्यालयमै पुगेर सचेतना कार्यक्रम आजबाट सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । विगत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न विद्यालय तथा समुदायस्तरमा उपभोक्ता सचेतना कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
“उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम भएकोले प्रभावकारी हुन्छ”,प्रमुख पौडेलले भन्नुभयो, “विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुने घरपरिवार र समुदायमा पनि पुग्ने भएकोले कार्यक्रम शुरु गरिएको हो।”
हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै प्रमुख पौडेलले उपभोक्ता ठगिएको वा अधिकार हनन भएको महशुस भएमा सम्बन्धित निकायमा उजुरी गर्ने, क्षतिपूर्ति भराउने र जिम्मेवार बनाउने दायित्व पनि उपभोक्ताकै भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधनाध्यापक ऋषिराम ढकालले विद्यार्थीलाई दिईएको उपभोक्ता शिक्षा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई ठगिनबाट कसरी जोगिने, के खान हुन्छ, के हुँदैन भन्ने ज्ञान हुने र उनीहरुले घरपरिवार समाज समक्ष पु¥याउने भएकोले फलदायक हुने उहाँको भनाई थियो ।





